Friday, June 10, 2022

चर्चामा रहेका उपका पुरुष उम्मेदवार



स्थानिय निर्वाचनको पूर्व संध्यामा आइपुग्दा जिल्लाका हरेक पालिकामा केही उम्मेदवार कुनै न कुनै विशेषताले चर्चामा छन् । महोत्तरीमा चर्चाको विषय बन्ने उम्मेदवारहरु मध्ये एक उम्मेदवार हुन, एकडारा गाउँपालिकाका उपप्रमुख पदका पुरुष उम्मेदवार–महेश कुमार यादव ।

महेश कुमार यादवले आम मतदाताका बीच ल्याएको अनुरोध पत्र मतदातामाझ चर्चामा छ । प्रायः सबैजसो नागरिकको बुझाईमा उपमेयर÷उपाध्यक्षको पद महिलाकोलागि छुट्टयाइएको हुन्छ भन्ने छ । हो, महिलाको सहभागिता सुनिश्चित गर्न दलहरुद्वारा दिइने उम्मेदवारीमा प्रमुख र उपप्रमुख मध्ये एकजना महिलाको व्यवस्था अनिवार्य गरिएको छ । देशैभरि,विशेषगरी मधेश प्रदेशमा उपप्रमुख÷उपाध्यक्षको पदमा पार्टीको टिकट पाउन नसकेका नेता विद्रोह नगरोस भनेर ती नेताको श्रीमति,छोरी,बुहारीलाई महिला उम्मेदवारकोरुपमा उपाध्यक्षपदमा टिकट दिने चलन चल्दै आएको हो । उपाध्यक्षमा प्रायः महिलाहरुलाई नै उम्मेदवार बनाइने परम्परा रहेकोले पनि पुरुष भएर एकडारा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार भएकाले पनि महेश कुमार यादव चर्चामा छन् ।

एकडारा गाउँपालिकाका उपाध्यक्षपदमा स्वतन्त्र उम्मेदवारकोरुपमा उम्मेदवारी दिएका महेश कुमार यादव भन्नुहुन्छ,‘‘उपमा आफ्नो श्रीमतिलाई उम्मेदवार बनाउने चलनले म साह्रै दुखित छु । यो अफर मलाई पनि नआएको होइन । तर, कहिले पनि राजनीतिमा नगएकी, घरबाट बाहिर ननिस्केकी, सामाजिक सुव्यवस्थापनको ज्ञान नै नभएकी श्रीमतिलाई उपाध्यक्ष जस्तो सामरिक महत्व बोकेको पदमा उम्मेदवार बनाउनु भनेको पालिकासँग अन्याय हो भन्ने मेरो बुझाई छ । राजनीतिमा होमिने श्रीमान र उनले टिकट नपाएपछि आफ्नो घरको अराजनीतिक, घरेलु महिलालाई उपाध्यक्षमा उम्मेदवार बनाइने परम्पराको विरोधमा मैले आफ्नो उम्मेदवारी उपाध्यक्षमा दिएको हूँ ।’’


.......................................................................................................

को हुन महेश कुमार यादव ?

माओवादीको जनयुद्धताका नै माओवादीसँग नजिकिएका उनी शान्तिवार्ता पछि माओवादीको पार्टी प्रतिनिधिकोरुपमा तात्कालिक भटौलिया गा वि स मा कामगर्दा राम्रो विचार र अडानका कारण चर्चा बटुलेका थिए । उनी दोस्त्रो संविधान सभामा तमलोपाबाट माओवादी भएका राम कुमार शर्माको प्रमुख कार्यकर्ताकोरुपमा काम गरे । डा.बाबुराम भट्टराईले निर्माण गरेको नयाँ शक्ति रोजेका यादवले शु्रुवाती दौरमा पार्टीको सचिव एवम् संगठन विभागको जिम्मेवार िपाएका थिए । कुशल संगठन संचालकको परिचय बनाएका महेश कुमार यादव २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट एकडारा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाइए । विगतको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा १२ सय भन्दा बढी मत ल्याएर उनी चौथो स्थानमा रहे । चुनाव पछि तात्कालिक समाजवादी पार्टीमा अवद्ध भएका यादवलाई पार्टीको जिल्ला सचिव सहित संगठन विभागको जिम्मेवारी दिइयो । लोसपा र समाजवादी पार्टी मिलेर बनेको जसपा अर्थात जनता समाजवादी पार्टीमा पनि महेशलाई नै जिल्ला सचिवको जिम्मेवारी सुम्पियो । जसपाको दोस्त्रो समायोजन पश्चात पनि जिल्ला सचिव र संगठन विभागको जिम्मेवारीमा रहेका यादव पालिकाको अध्यक्ष पदका पार्टी भित्र प्रवल दावेदार थिए । पार्टीले अध्यक्षपदमा अर्कैलाई सारेपछि उनलाई विभिन्न पार्टीबाट श्रीमतिलाई उपाध्यक्षमा उम्मेदवार बनाउन आग्रह गरिए पनि उनी अन्ततः एकडारा गाउँपालिकाको उपाध्यक्ष पदमा ‘भूईं कटहर’ चुनाव चिन्हका साथ स्वतन्त्र उम्मेदवारकोरुपमा देखा परेका छन् ।

चौविस घन्टे राजनीतिमा सक्रिय महेश इमान्दार र राजनैतिक सुझबुझ भएका महोत्तरीका जिल्ला नेताहरु मध्ये गनिन्छ । विकास निर्माणको कुनै पनि उपभोक्ता समितिमा बस्न नचाहेका उनी दूई कार्यकाल पर्सा प्राविको संचालक समितिको अध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् । सुन्दर अभियानका प्रमुख अभियानी मध्येका एक महेश जनकपुर–भिट्ठामोड सडक आन्दोल, मधेश आन्दोलन ताका गाउँगाउँमा संचालनल गरिएको जागरण सभा,एकडारा, कटैया लगायतको ठाउँमा संचालन गरिएका अभियानमा सक्रिय भूमिका निर्वाह गरीसकेका उनी महोत्तरीका कर्मठ, बुद्धिजिवी नेताकारुपमा परिचय बनाएका छन् ।

.......................................................................................................

उनी भन्छन्,‘‘पालिकाको उपाध्यक्ष भनेको सफ्टवेयर हो, यसले पालिकाको विकासमा, समाजिक न्यायको दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । राजनैतिक भागवण्डामा उपाध्यक्ष जस्तो गरिमा र ओजपूर्ण पदलाई नेता÷व्यापारी÷कर्मचारीका अशिक्षित,अराजनैतिक, घरबाट बाहिर ननिस्केकी श्रीमति,छोरी,बुहारीलाई उम्मेदवार बनाइनुले अधिकांश पालिकामा न्यायीक इजलास समेत गठन हुन सकेको छैन । योजना तजुर्मा तथा अनुगमन र मूल्यांकन जस्ता गहन कार्यहरु हचुवाका भरमा सम्पन्न भए ।’’ उपाध्यक्षको पदमा राजनैतिक र सचेत व्यक्ति आएभने पालिकालाई हरेक क्षेत्रमा सबल बनाउन सकिने बताउँदै महेशले भने,‘उपाध्यक्षको गरिमा,जिम्मेवारी र अधिकारलाई अध्ययन गर्दा र विभिन्न पालिकामा विगत र यसपालिको चुनावमा देखा परेका उम्मेदवारहरुसँग असन्तुष्ट हुँदै, उपाध्यक्षको पदको काम,कर्तव्य र विशेषता स्थापित गर्न मैले जसपा जस्ता पार्टीको जिल्ला सचिवको पदलाई पर्वाह नगरी उपाध्यक्षमा उम्मेदवारी दिएको हूँ ।’

एकडारा गाउँपालिकाका शिक्षित र सजग मतदाताहरु महेश कुमार यादवले पालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारीले उत्साहित बनेका छन् । राष्ट्रिय पार्टीका एकजना एकडाराका जिल्ला स्तरीय नेता आफ्नो नाम नछाप्ने आग्रह गर्दै भन्छन्,‘‘राजनीति गर्ने हामी पुरुष तर भागवण्डामा जुनरुपमा राजनीतिमा कहिले नलागेकी हाम्रा घरका महिलालाई उपाध्यक्षको उम्मेदवार दिने चलनले प्रश्रय पाउँदैछ, स्थानीय सरकार, पालिकाका जनता र समग्र देशकै लागि दुखद हो । भागवण्डामा आफ्नो घरको महिलालाई उप बनाउने वा पार्टीको पदजाने भयले चुपलाग्नु बाहेक कुनैपनि राजनैतिक पार्टीको नेता÷कार्यकर्ताले प्रायःआँट गर्दैनन् । मधेश प्रदेशमा एक त राजनीतिमा सक्रिय महिला नै थोरै छ र अर्को राजनैतिककर्मी पुरुष उपाध्यक्षमा उम्मेदवारी दिन संकोच मानिरहेको अवस्था छ । यस्तो अवस्थामा पनि उपाध्यक्षमा महेश कुमार यादव जस्ता राजनैतिक व्यक्तिले उम्मेदवारी दिनुले हाम्रो पालिकामा चर्चाको विषय बनेको छ । विगतमा पालिका अध्यक्षमा सम्मानजनक मत पाएका महेशले जसपाको जिल्ला सचिव र संगठन विभागको पदको पर्वाह नगरी उपाध्यक्षमा उम्मेदवार बन्नु एकडारा गाउँपालिकाकोलागि सौभाग्यको कुरा हो । उपाध्यक्ष पदको काम,कर्तव्य बुझेकाहरु पुरुष भएरपनि उपाध्यक्षका उम्मेदवार रहेका महेश कुमार यादवको ‘भुईं कटहर छाप’ले सबैलाई आकर्षित गरिरहेको छ । पालिकाले महेश जस्तो उपाध्यक्ष पाएमा चौतर्फीरुपमा फड्को मार्ने कुरामा म लगायतका व्यक्तिहरु विश्वस्त छौं ।’’ अध्यक्ष÷प्रमुख पदमा सबैको अ–आफ्नै उम्मेदवार रहेपनि हरेक दलबाट उपाध्यक्षमा महेश कुमार यादवको भुईं कटहर छापमा मत जाने ठोकुवा उनी गर्छन् ।  

  


No comments:

Post a Comment